पुनर्निर्माण अपडेट

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भूसालद्वारा पदभार ग्रहण

प्रकाशित मिति: २०७४-७-७

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले मंगलबार बिहान पदभार ग्रहण गर्नुभएको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट डा.गोविन्दराज पोखरेलले शनिबार राजीनामा दिनुभएपछि सोमबार मन्त्रिपरिषद्ले नेपाल सरकारका पूर्व सचिव भुषाललाई नयाँ सिइओमा नियुक्त गरेको हो ।  
त्यसअघि, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुषाललाई प्राधिकरणका सचिव सर्वजित प्रसाद महतो, कार्यकारी सदस्यहरु डा.चन्द्रबहादुर श्रेष्ठ, डा.विष्णु बहादुर भण्डारी, डा. हरिराम पराजुली, सहसचिवहरु लगायतले स्वागत गर्नुभएको थियो ।  
पदभार ग्रहण गरेपछि प्राधिकरणका अधिकारीहरु एवम् संचारकर्मीलाई सम्बोधन गर्दै सिइओ भुषालले टहरामा बसेका दाजुभाई तथा दिदीबहिनीको आँशु पुछ्न लागि पर्ने बताउनु भयो । उहाँले पहिलो चरणमा भूकम्प दिवस (माघ २) अघिको तीन महिनामा केही ठोस कार्य गर्ने र दोस्रो चरणमा आगामी बर्खाअघि त्यसलाई थप गति दिने बताउनु भयो । 
भूकम्प प्रभावितलाई नयाँ घरमा बसाल्ने कार्यलाई पहिलो प्राथमिकता दिइने भए पनि क्षतिग्रस्त ऐतिहासिक धरोहरहरु तथा पुरातात्विक संरचनाको पुनर्निर्माणलाई पनि तिव्रता दिने आफ्नो योजना रहेको उहाँले जानकारी गराउनु भयो ।
कुनै पनि संगठनमा विकासका तीन चरण रहने उल्लेख गर्दै सिइओ भुसालले संगठनात्मक संरचना निर्माण तथा नीतिगत चरण सकिएकाले अब तीव्र गति दिने चरण आएको बताउनु भयो । पूर्व प्रमुख कार्यकारी अधिकृतहरुले आ–आफ्नो चरणको कार्य गर्नुभएको उल्लेख गर्दै भुसालले भूकम्पप्रभावितलाई सेवा गर्ने उद्देश्यले प्राधिकरणमा आएको धारणा राख्नु भयो ।
२०७१ साउनमा अर्थसचिवबाट सेवा निवृत्त हुनुभएका भुषालसँग पर्यटन, सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका, वन मन्त्रालय, राष्ट्रिय योजना आयोगमा कार्य गरेको अनुभव छ । सेवानिवृत्त भएपछि उहाँले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा अध्ययन निर्देशक बनेर काम गर्नु भएको थियो । 
पदभार ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत भुसालले प्राधिकरणका उच्च अधिकारीबाट ब्रिफिङ लिनुभएको थियो । सो क्रममा उहाँले भूकम्प पीडितहरुको पुर्नस्र्थापना र पुनर्निर्माणमा परिणाममुखी भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed