पुनर्निर्माण अपडेट

पुनर्निर्माण सम्पन्न ऐतिहासिक गद्दी बैठकको उद्घाटन

प्रकाशित मिति: २०७५-३-१३

काठमाडौं, असार १३
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले बसन्तपुर दरबार क्षेत्रमा रहेको पुनर्निर्मित गद्दी बैठकको उद्घाटन गर्नु भएको छ। २०७२ बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको एक शताब्दीभन्दा पुरानो यो सम्पदाको अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनको आर्थिक सहयोगमा पुनर्निर्माण भएको हो । पुनर्निर्माणका लागि अमेरिकी सरकारले ७ लाख अमेरिकी डलर सहयोग गरेको थियो ।  उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै सम्माननीय प्रधानमन्त्री ओलीले गद्दी बैठक पुनर्निर्माणमा सहयोग गरेकोमा अमेरिकी सरकार तथा अन्य सम्बन्धित संघ, संस्थालाई धन्यवाद दिनु भयो । उहाँले सरकारले निजी आवाससँगै सम्पदाहरुको पुनर्निर्माणमा पनि जोड दिएको बताउनु भयो । 
नेपालका लागि अमेरिकी कार्यबाहक राजदूत पिटर मालनकले अमेरिकाले विश्व सम्पदाहरुको संरक्षण गर्ने सिलसिलामा गद्दी बैठक पुनर्निर्माणमा सहयोग गरेको स्पष्ट पार्नु भयो । 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको उपस्थिति थियो ।  
मियामोटो ग्लोबल डिजास्टर रिलिफले इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स, नेपाल (इकोमोस) को साझेदारी तथा पुरातत्व विभागको सुपरीवेक्षणमा गद्दी बैठकलाई पुरानै स्वरुपमा फर्काएको छ । पुनर्निर्माण सन् २०१६ अक्टुबरबाट भएको हो ।
राजा पृथ्वी वीरविक्रम शाह तथा राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा विक्रम संवत् १९६५ मा गद्दी बैठकको निर्माण भएको हो । बसन्तपुर दरबार क्षेत्रमा रहेको अर्को ऐतिहासिक सम्पदा नौतले दरबारको चिनिया सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।  ७५३ क्षतिग्रस्त पुरातात्विक सम्पदामध्ये हालसम्म १०६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३३० सम्पदाहरु पुनर्निर्माण भइरहेका छन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed