पुनर्निर्माण अपडेट

तीन लाख बढी लाभग्राही दोस्रो किस्ता पाउन योग्य

प्रकाशित मिति: २०७४-१२-५

काठमाडौं, चैत्र ५
पुनर्निर्माणमा सक्रिय तीन लाखभन्दा बढी लाभग्राही दोस्रो किस्ताका लागि योग्य भएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको आइतबारसम्मको तथ्यांक अनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ३ लाख ३ हजार ५ सय ५५ पुगेको छ ।
प्रमाणीकरण भएका लाभग्राहीले आफ्नो आवश्यकता अनुसार बैंकबाट घर पुनर्निर्माणका लागि डेढ लाख रुपैयाँ लिन सक्छन् । 
पछिल्लो समय निजी आवास पुनर्निर्माणले गति लिएसँगै दोस्रो किस्ताका लागि दाबी गर्ने लाभग्राहीको संख्या दिन प्रति दिन बढिरहेको छ । आइतबारकै तथ्यांकअनुसार ३ लाख १४ हजार १ सय २४ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् । 
पहिलो किस्ता लिएर भूकम्प प्रतिरोधी मापदण्डअनुसार घरको जग राखेका लाभग्राहीले निवेदन दिएपछि प्राविधिकले दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् । 
दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राही सिन्धुपाल्चोकका सबैभन्दा धेरै छन् । त्यहाँका ५१ हजार ९ जना भूकम्प प्रभावित लाभग्राहीले अब दोस्रो किस्ताको रकम पाउनेछन् । त्यसैगरी, नुवाकोटका ४१ हजार ७ सय ९४, गोरखाको ३६ हजार ८ सय ६५, दोलखाका ३४ हजार २८ जना, धादिङका ३१ हजार ९ सय ३७ जना, काभ्रेपाल्चोकका २३ हजार ९ सय ४५ लाभग्राहीले पनि दोस्रो किस्ता पाउनेछन् ।  
भूकम्प कम प्रभावित जिल्लाका लाभग्राही पनि दोस्रो किस्ताका लागि योग्य हुन थालेका छन् । आइतबारसम्म लमजुङका ५ सय ९२ र चितवनका १ सय ६५ लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले अनुदान सम्झौता भएका ६ लाख ९७ हजार ६ सय ३५ लाभग्राहीमध्ये ४३.५१ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता पाउनु उल्लेखनीय प्रगति भएको मान्न सकिने बताउनु भयो ।  
दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या जस्तै भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माणधीन घरको संख्या ३ लाख ५८ हजार ६ सय ३७ छ भने निर्माण सम्पन्न भएका घरको संख्या १ लाख १० हजार ४ सय ७२ पुगेको छ ।
प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांक अनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ५७ हजार ३३ घर पुनर्निर्माण भइरहेका छन् । 
यो गतिलाई तीव्रता दिंदै मनसुन शुरु हुनु अगावै थप घरहरुको निर्माणमा बढोत्तरी कायम गर्ने गरी प्राधिकरणले आवश्यक तयारी गरिरहेको प्रवक्ता भूसालले बताउनुभयो । 
भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्तामा १ लाख रुपैया पाउँछन् । 


 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed