पुनर्निर्माण अपडेट

भूकम्पले क्षतिग्रस्त ललितपुरका सरकारी बिद्यालयको पुर्ननिर्माण तिव्र

प्रकाशित मिति: २०७४-५-११

भूकम्पका कारण क्षतिग्रस्त ललितपुरका सरकारी विद्यालयका ९१ वटा कक्षाकोठा आगामी मङ्सिर महिनासम्म पुर्ननिर्माण सम्पन्न हुने भएका छन् । पाँचवटा विद्यालय भवन भने यही भदौ मसान्तभित्रमै सम्पन्न हुने अवस्थामा पुगेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव यमलाल भूसाल र शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख इमनारायण श्रेष्ठसहितको संयुक्त टोलीले शुक्रवार ललितपुरमा भूकम्पले क्षतिग्रस्त भएका सरकारी बिद्यालयको पुनर्निर्माणमा भइरहेको प्रगतिवारे अनुगमन गरेको हो ।  
उक्त अनुगमनका क्रममा ललितपुरका साढे तीन सय कक्षा कोठा पुनर्निर्माण गर्नुपर्नेमा अधिकांस बिद्यालय निर्माणकार्यको अन्तिम चरणमा पुगेको पाइएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता समेत रहेका सहसचिव यमलाल भूसालले बिद्यालय पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन, निरन्तरको अनुगमत र विभिन्न बिकास साझेदार संस्थाहरुसँगको सहकार्यमा बिद्यालय पुनर्निर्माणले गति लिएको बताउनुभयो ।
विद्यालय पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिलाई नै जिम्मा दिएर काम थालेपछि विद्यालय निर्माणको काममा गति आएको शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख सहसचिव इमनारायण श्रेष्ठले बताउनुभयो ।
ललितपुरको ठैवस्थित फूलचोकी विद्यालयले गत वैशाखमा सुरु गरेको चार कोठे विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा दसैँपछि विद्यार्थीलाई अध्यापन गराउन सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।  भवन निर्माणको प्रगतिका आधारमा अर्थ मन्त्रालयबाट रकम निकासा हुने गरेकाले काममा कुनै अप्ठ्यारो नपरेको उहाँको भनाइ छ । उक्त विद्यालय भवनका लागि करिब ५८ लाख रुपियाँ लागत अनुमान गरिएको छ ।
त्यस्तै, ललितपुरकै बडीखेलस्थित पथप्रदर्शक मावि जापान सरकारको ऋण सहयोगमा पुनर्निर्माण भइरहेको छ । उक्त विद्यालयको ६ कोठे एउटा भवन, पुस्तकालय र प्रयोगात्मक कक्षसहितको अर्को भवन, शौचलायलगायत वरपर पर्खालको काम अन्तिम चरणमा पुगेको छ । यसै महिनमा उक्त विद्यालय निर्माण सम्पन्न गरेर सञ्चालनमा आउने विद्यालयका प्रधानाध्यापक अञ्जन आचार्यले बताउनुुभयो ।
त्यस विद्यालय जापान सहयोग नियोगको आपत्कालीन विद्यालय पुनर्निर्माण परियोजनाअन्तर्गत चार करोड ३६ लाख ५० हजार रुपियाँ लागतमा निर्माण भइरहेको हो । विद्यालयमा ४०० विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै ललितपुरको भरुवारासीको नवज्योति माविको दुई कोठे भवन निर्माण पनि करिब पूरा भएको छ । वैशाखबाट निर्माण सुरु गरेको विद्यालयले यसै महिनमा सम्पूर्ण कार्य सम्पन्न गर्ने विद्यालयका प्रधानाध्यापक हरिहर लामिछानेले जानकारी दिनुभयो ।
उक्त विद्यालय भवनको दुई कोठा निर्माणका लागि २० लाख ४७ हजार रुपियाँ लागेको बताइएको छ । विद्यालयमा २६४ विद्यार्थी अध्ययनरत छन् ।
सरकारको अनुदानमा नै निर्माण भइरहेको ललितपुर एकान्तकुनाको श्री महेन्द्र भृकुटी माविको निर्माण करिब पूरा भएको छ ।
यसै महिनाको अन्त्यदेखि विद्यार्थीलाई अध्यापन गराउन सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिंहले जानकारी दिनुभयो । चार कोठे भवनका लागि करिब ५५ लाख रुपियाँ खर्च भएको विद्यालय व्यवस्थापना समितिले जानएको छ ।
भूकम्पले क्षति पु¥याएका ललितपुरका विद्यालय पुनःनिर्माणको कार्य समय सीमाभित्रै पूरा हुने जिल्लास्तरीय परियोजना कार्यान्वयन इकाइका प्रमुख भगवानप्रसाद पौडेलले जानकारी दिनुभयो । तोकिएको समय सीमामा तोकिए अनुसारको प्रगति भए नभएको निरन्तर अनुगमन गर्न थालेपछि विद्यालय पुनःनिर्माणले गति लिएको उहाँको दाबी छ ।

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed