पुनर्निर्माण अपडेट

तीन महिनाको पुनर्निर्माण प्रगतिको समीक्षा

प्रकाशित मिति: २०७४-१०-१७

माघ १७, काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले प्राधिकरणको जिम्मेवारी सम्हाल्नु भएयताका तीन महिनामा भए, गरेका कार्यहरुका समीक्षा गरिएको छ । 
काठमाडौंमा राष्ट्रियस्तरका संचारकर्मीबीच गरिएको छलफल कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भूसालले यसबीच भएका मुख्य प्रयासहरुबारे संचारकर्मीलाई जानकारी गराउनु भयो ।
प्रमुख कार्यकारी अधिकृत भूसालले प्राधिकरणमा जिम्मेवारी सम्हालेलगत्तै स्थानीय सरकारलाई पुनर्निर्माणमा संलग्न गराउने र अगाडि लगाउने प्रयास गरिएको बताउनु भयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुको माग अनुसार प्राविधिक कर्मचारीहरुलाई स्थानीय सरकारको मातहत खटाइएको र सम्बन्धित ठाउँमा नगएका प्राविधिकहरुको नियुक्ति रद्द गरी बैकल्पिक सूचीबाट खटाउने क्रम पनि जारी रहेको जानकारी दिनुभयो । 
संचारकर्मीको जिज्ञासाको जवाफ दिंदै प्रमुख कार्यकारी अधिकृत भूसालले स्थानीय तहमा निर्माण जनशक्तिको अभाव हुन नदिन भूकम्प प्रभावित सबै ३२ जिल्लाका २८२ स्थानीय तहमा डकर्मी तालिम संचालन गरिएको उल्लेख गर्दै फाल्गुण मसान्तसम्ममा करिब ४१ हजार थप डकर्मीको आपूर्ति हुने व्यवस्था मिलाइएको पनि जनाउनु भयो । 
घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिने समयसीमाबारे अन्योल बढिरहेका बारे संचारकर्मीको प्रश्नको सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत भूसालले यसबारे सम्माननीय प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिको माघ महिनाभित्रै बैठक राखी निर्णय गर्ने जानकारी दिंदै पुनर्निर्माणको कार्य निरन्तर रहने स्पष्ट पार्नुभयो । 
प्रमुख कार्यकारी अधिकृत भूसालले कतिपय जोखिममा रहेका लाभग्राहीहरु जस्तै ७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका असक्त एकल महिला, दृष्टिविहीन लगायतका रातो तथा निलो कार्डधारी अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिगको घरबासको निर्माण गर्न वैकल्पिक व्यवस्था गर्न एक कार्यविधि तयार गरी अघि बढाइएको छ जानकारी दिंदै अहिलेसम्म करिब ४ सयजतिको लगत आइपुगेको बताउनुभयो ।  
कार्यक्रममा प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भूसालले भारतले दिने भनेको २५ अर्ब बराबरको अनुदान सहयोग र ७५ अर्ब बराबरको सहुलियत ऋणको प्रगतिका बारेमा जानकारी दिनु भयो । प्रवक्ता भूसालले २५ अर्ब अनुदानमध्ये १० अर्ब निजी आवास निर्माण, ५ अर्ब शैक्षिक भवनहरुको पुनर्निर्माण, ५ अर्ब स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण र बाँकी ५ अर्ब सम्पदाहरुको पुनर्निर्माणमा खर्च हुने बताउनु भयो । त्यस्तै, सहुलियत ऋणबाट पुनर्निर्माण गरिने ठूला परियोजनाहरुको छनौटको प्रक्रिया अघि बढेको पनि प्रवक्ता भूसालले उल्लेख गर्नु भयो ।
विस्तृत विवरणका लागि कार्यक्रममा छलफल गरिएको ‘पुनर्निर्माण प्राधिकरणमा तीन महिनाः पुनर्निर्माणलाई तिव्रता दिने प्रयासहरु’ शीर्षकको सामग्री । 


 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed