पुनर्निर्माण अपडेट

विकास साझेदारसँग प्राधिकरणको अन्तरक्रिया

प्रकाशित मिति: २०७४-७-१३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण तथा पुनस्र्थापनामा सहयोग गरिरहेका विकास साझेदारहरुसँग अन्तरक्रिया गरेको छ । कार्यकारी प्रमुख अधिकृतको जिम्मेवारी लिएर युवराज भुसाल आउनु भएपछि विकास साझेदारहरुसँग यो पहिलो अन्तरक्रिया हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत भुसालले पुनर्निर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि यसको गतिमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गर्नु भयो ।
पुनर्निर्माणसँग सम्बन्धित मन्त्रालय तथा निकायमा तथा स्थानीय तहसँग लामो अनुभव भएको बताउँदै उहाँले संगठनात्मक र नीतिगत चरण सकिएकाले अब तीव्र कार्यान्वयन गर्न सकिने आत्मविश्वास व्यक्त गर्नुभयो । उहाँले वर्षाअघि ६० प्रतिशतलाई नयाँ घरमा सार्ने आफ्नो लक्ष्य रहेको जानकारी दिंदै त्यसमा विकास साझेदारहरुको सहयोगको अपेक्षा गर्नु भयो ।
उहाँले विकास साझेदारहरुलाई पुननिर्माणमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन पनि आग्रह आग्रह गर्नुभयो ।
कार्यक्रममा आआफ्नो संस्थाका तर्फबाट पुनर्निर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्दै विकास साझेदार संस्थाका प्रतिनिधिहरुले त्यो आगामी दिनमा पनि जारी रहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा संयुक्त राष्टसंघ, युरोपेली युनियन, जपानी सहयोग संस्था जाइका, बेलायती सहयोग संस्था डिफिड, विश्व बैंक, एसियाली विकास बैंक, चीन, भारत, युनोप्सका प्रतिनिधिहरुले आफ्नो धारणा राख्नुभएको थियो ।
अन्तरक्रियामा निवर्तमान प्रमखु कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो । प्राधिकरणमा नौ महिना नेतृत्व गरेर हालै मात्र राजीनामा दिई राजनीतिमा होमिनु भएका डा.पोखरेललाई विकास साझेदारहरुको तर्फबाट विदाइ गरिएको थियो ।
निवर्तमान सिइओ पोखरेलको बिदाई
निर्वतमान प्रमुख कार्यकारी अधिकृत पोखरेललाई आजै बिदाई गरिएको छ । प्राधिकरणमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भूसालले पुनर्निर्माणका लागि पोखरेलले थुप्रै सकारात्मक काम गरेको भन्दै आफुले यसलाई निरन्तरता दिने बताउनुभयो । भूसालले भन्नुभयोः पुनर्निर्माणलाई यो चरणमा ल्याउन पोखरेललले धेरै मिहिनेत गर्नुभयो, अब अर्का चरणका रुपमा यसलाई थप गति दिएर अघि बढ्ने मेरो प्रयास रहनेछ ।
उक्त कार्यक्रममा भुसालसँगै प्राधिकरणका कार्यकारी सदस्य, सचिव, सह–सचिव लगायतले राजनीतिक यात्रामा होमिएका पोखरेललाई सफलताको शुभकामना दिनुभएको थियो ।

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed