पुनर्निर्माण अपडेट

पुनर्निर्माणसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

प्रकाशित मिति: २०७५-३-८

विराटनगर, असार ८
प्रदेश नम्बर १ का भूकम्प प्रभावित ६ वटा जिल्लाहरुको पुनर्निर्माणको पछिल्लो अवस्था, त्यसक्रममा देखिएका समस्याको पहिचान एवं समाधानका उपायहरुबारे शुक्रबार प्रदेश राजधानी विराटनगरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश मुख्यमन्त्री माननीय शेरधन राई प्रमुख अतिथि हुनुहुन्थ्यो ।  
अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै मुख्यमन्त्री राईले आगामी आर्थिक वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त निजी आवास सम्पन्न गर्ने संघीय सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । 
भूकम्पपछिको पुनर्निर्माण संवेदनशील र गम्भीर मोडमा आइपुगेको धारणा राख्दै उहाँले भन्नुभयो, “पुनर्निर्माणमा प्रदेश सरकार र स्थानीय सरकारलाई पनि साथमै लिएर अघि बढ्ने प्राधिकरणको प्रयास सह्रानीय छ ।”  
त्यसैगरी, अन्तरक्रिया कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै प्रदेश सभाका सभामुख प्रदीप कुमार भण्डारीले पुनर्निर्माणमा थोरै ढिलाई भए पनि अब भने पीडितहरुको घाउ चहर्याउन दिन नहुने बताउनुभयो ।
कार्यक्रममा यस प्रदेशका भूकम्प प्रभावित जिल्लाका प्रदेशसभा सदस्यहरुले आ˗आफ्ना क्षेत्रको पुनर्निर्माण अवस्था तथा समस्याहरुबारे धारणा राख्नुभयो । सोलखुम्बुका प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारीले लाभग्राहीलाई किस्ता लिन झन्झटिलो भएकोले सरलीकृत गर्न सुझाव दिनुभयो । उहाँले प्राधिकरणका प्राविधिक गाउँ पुग्नुअघि बनेका घरलाई एकमुष्ठ अनुदान उपलब्ध गराउनु पर्ने पनि बताउनु भयो । 
सोलुखुम्बुबाटै प्रतिनिधित्व गर्ने अर्का सदस्य उत्तम कुमार बस्नेतले स्थानीय सामग्रीको प्रयोग गरेर पनि भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिने सीप हस्तान्तरण गर्नु पर्ने बताउनु भयो । बस्नेतले कैयौं लाभग्राहीले घर बनाउन सुरु गर्न नसकेकोले अनुदानको दोस्रो र तेस्रो किस्ता लिने समयावधि थप्न आग्रह गर्नु भयो ।   
ओखढुंगाका प्रदेश सभा सदस्य अम्बीर बाबु गुरुङले एकातिर भूकम्पबाट घर क्षतिग्रस्त भएकाहरु लाभग्राहीमा नपरेको अर्कोतिर क्षति नभएकाहरुले सरकारी अनुदान लिएको बताउनु भयो । 
भोजपुरका प्रदेश सभा सदस्य राजेन्द्र राईले धेरै लाभग्राहीलाई दोस्रो किस्ता लिन समस्या रहेको बताउनुभयो । उहाँले अनुदान लिने प्रक्रिया छोटो पार्न सुझाव पनि दिनु भयो । धनकुटाका प्रदेश सभा सदस्यहरु इन्द्रमणि पराजुली, निरन राई, कुसुम कुमारी श्रेष्ठ र लिला श्रेष्ठले सहुलियत व्याजको ऋण लिन समस्या भएको, गाउँमा बैंकहरु नगएको तथा गाउँको धितो मूल्यांकनमा समस्या भएकोले यसमा विशेष पहल गर्न आग्रह गर्नु भयो । 
प्रदेश सभा सदस्यहरुले उठाउनु भएका जिज्ञासाको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले जवाफ दिनु भएको थियो । उहाँले स्थानीय तहको मातहत रहनेगरी प्राविधिक खटाइएको र कहींकतै आवश्यक भएमा पठाउन सकिने जानकारी दिंदै आगामी हप्ता दश दिनभित्रै डिस्ट्रिक सपोर्ट इञ्जिनियर (डीएसई) जिल्ला जिल्ला पठाएर प्राविधिक पुग्नुअघि बनेका घरलाई सुधार गर्न थालिने बताउनु भयो ।
केन्द्र तथा स्थानीय तहमा दर्ता भएका गुनासोहरुको सम्बोधन सुरु भएको जानकारी दिंदै उहाँले गुम्बा पुनर्निर्माणको विस्तृत खाका बनिसकेको र आगामी निर्देशक समितिको बैठकले दिशानिर्देश गरेलगत्तै अगाडि बढ्ने बताउनु भयो । 
प्राधिकरण कार्यकारी समिति सदस्य धु्रव प्रसाद शर्माले कुनै जिल्लामा जोखिमयुक्त क्षेत्र छ भने स्थानीय तहले आग्रह गरेमा प्राधिकरणले विज्ञहरु खटाएर अध्ययन गर्ने व्यवस्था रहेको बताउनु भयो । शर्माले जोखिमयुक्त क्षेत्रबाट सारेर एकीकृत वस्ती विकासमा प्राधिकरणले जोड दिएको र कैयौं स्थानमा त्यस्ता बस्ती बनेको जानकारी पनि दिनु भयो ।
कार्यक्रममा समग्र भूकम्प प्रभावित जिल्लाहरुको पुनर्निर्माणको स्थितिका बारेमा प्रवक्ता कृष्ण प्रसाद दवाडी र प्रदेश नम्बर १ का ६ वटा जिल्लाहरुको अवस्थाका बारेमा सहप्रवक्ता मनोहर घिमिरले जानकारी गराउनु भएको थियो ।   
प्रदेश नम्बर १ मा पुनर्निर्माण लाभग्राहीको संख्या ५१ हजार ३ सय ४६ छ भने प्रबलीकरण लाभग्राहीको संख्या ३ हजार ४ सय ५३ छ । कूल लाभग्राहीमध्ये ९५ प्रतिशतसँग अनुदान सम्झौता भइसकेको छ । ४७ हजार ७ सय ५ ले पहिलो किस्ता लिइसकेका छन् । 
प्रदेश नम्बर १ को ओखलढुंगा अति प्रभावित जिल्ला हो भने प्रभावित जिल्लाहरुमा सोलुखुम्ब, खोटाङ, भोजपुर, संखुवासभा र धनकुटा पर्छन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed