पुनर्निर्माण अपडेट

पुनः सर्वेक्षणका लागि १४ वटै जिल्लामा खटिए इञ्जिनियर

प्रकाशित मिति: २०७४-५-१

छुट तथा पुनः सर्वेक्षणका लागि भूकम्प अति प्रभावित १४ जिल्लामा भोली शुक्रवारदेखी ३ सय ३२ जना इन्जिनियरले काम शुरु गर्ने भएका छन् ।
उनीहरुलाई तीन समूह बनाएर राजधानीमा तीन दिनको प्रशिक्षण दिइएको थियो । यसअघि दुई समुह जिल्लामा परिचालन भइसकेपनि तेस्रो समुह शुक्रबारबाट काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुलीमा परिचालित हुन लागेको हो् । बाँकी जिल्लामा यसअघि नै इञ्जिनियर पुगेर काम सुरु गरिसकेका छन् ।
उनीहरुले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब १ लाख २८ हजार वटा गुनासाको पुनः सर्वेक्षण गर्नेछन् । गुनासो फस्र्योट भएर लाभग्राही तथा प्रबलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण हुने छैन ।
प्राधिकरणको केन्द्रसम्म आएका दुई लाख ७ हजार आठ सय ६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५ सय ६५ प्रवलीकरण सुचीमा परेका छन् ।
जीपीएस प्रविधिमा आधारित भएर ट्वाव्लेटमार्फत् गरिने यो सर्वेक्षणमा इञ्जिनियरले संकलन गरेका तथ्यांक सिधै केन्द्रीय सर्भरमा जम्मा हुनेछ ।
१४ जिल्लामा परिचालित इञ्जिनियरहरुको संख्या यसप्रकार छ ः
जिल्ला     इञ्जिनियरको संख्या
दोलखा           २७
गोरखा          २८
नुवाकोट        १६
रामेछाप    ,   २४
रसुवा            ४
धादिङ          २९
सिन्धुपाल्चोक    १२
काभ्रे                  ४१
ओखलढुंगा        १६
सिन्धुली            ६०
मकवानपुर        ४८
काठमाडौं         ११
ललितपुर        ८
भक्तपुर        ७
जम्मा       ३३२

पुनः सर्वेक्षण भदौ ३१ सम्म सक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणले गुनासो दर्ता गराएका भूकम्प प्रभावितलाई आफ्नो क्षेत्रमा खटिएका इन्जिनियरहरुबाट आफ्नो भत्केको घरको पुनःसर्वेक्षण गराई अनुदान पाउने प्रक्रियाबाट बिमुख नहुन अनुरोध गरेको छ ।
गुनासो दर्ता नगराएकाहरुले भने स्थानीय वडा तहमा गुनासो दर्ता गराउन सक्ने छन् र उनीहरुको गुनासोलाई वडा गुनासो व्यवस्थापन समितिले सिफारिस गरी इञ्जिनियरलाई दिएमा उनीहरुको समेत तत्काल सर्वेक्षण गर्न प्राधिकरणले इञ्जिनियरहरुलाई निर्देशन दिएको छ ।
सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, दोलखामा सर्वेक्षण गर्नु पर्ने संख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ । प्राधिकरणले गुनासोको संख्याको अनुपातमा इञ्जिनियर परिचालन गरेको छ । १४ जिल्लाका २ लाख ७ हजार ५०० ले गुनासो दर्ता गराएका थिए ।
प्राधिकरणको यसरी सर्वेक्षण भएका घरधुरीको असोज मसान्तसम्ममा फस्र्योट गरी लाभग्राही पर्ने नपर्ने छनौट गरिसक्ने लक्ष्य राखेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भूकम्प अति प्रभावित क्षेत्रका वासिन्दाहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनैतिक दल र अन्य सम्बद्ध सबैमा यो कार्यलाई सफल पार्नका लागी सहयोग पुरयाउनु हुन अनुरोध समेत गरेको छ ।
थप जानकारी लागि प्रभावितहरुले प्राधिकरणको टोल फ्रि नम्वर १६६००१७२००० वा ९८०१५७२१११ मा सम्पर्क गर्न सक्ने छन् ।

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed