पुनर्निर्माण अपडेट

भूकम्पपीडितका जग्गा व्यवस्थापन सम्बन्धमा छलफल

प्रकाशित मिति: २०७४-४-३१

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा बस्ती लगायत क्षेत्रमा पुनर्निर्माण गर्दा देखिएको जग्गा दर्ता समस्या सम्बन्धमा समाधान खोज्न सम्बन्धित निकायसँग छलफल गरेको छ ।
निजी आवास पुनर्निर्माण गर्नका लागि भूकम्पपीडितलाई जग्गा दर्ता लगायतमा देखिएका समस्याहरुको समाधान खोज्ने उद्देश्यले प्राधिकरणले मंगलवार छलफल आयोजना गरेको हो ।
निजी आवास पुनर्निर्माणमा संयुक्त स्वामित्व भएको, दर्ता नभएका, कित्ताकाट नभएका समस्याहरु प्राधिकरणमा आएका छन् । त्यसैगरी, काठमाडौं उपत्यकाकाका खोकना, बुंगमती, मच्छेगाउँ लगायतका बस्तीको दर्तामा गाउँ ब्लक, शहर व्लक, स्ववासी आदि उल्लेख भएकोले निजी स्वामित्व हस्तान्तरण गर्न समस्या परेको गुनासो पनि दर्ता भएका छन् ।
प्राधिकरणले पहल गर्ने एकीकृत वस्ती विकास तथा वस्ती स्थानान्तरणमा समेत केही कानुनी अन्योल देखापरेपछि त्यसको हल गर्न सरोकारवालाको सुझाव लिइएको हो ।
भूकम्पबाट प्रभावित व्यक्तिको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी कार्यविधि २०७३ का केही दफामा देखिएका अन्योल हटाउन कार्यकारी समिति तथा मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने सहमति पनि भएको छ ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणका सम्बन्धमा देखिएका नीतिगत समस्याको गाँठो फुकाउन प्राधिकरण हरदम तयार रहेको भन्दै परिणाम आउने गरि काम गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
छलफलमा कार्यकारी समिति सदस्यहरु, सहसचिवहरु, विभिन्न मन्त्रालयका अधिकारीहरु, मालपोत तथा नापी विभागका महानिर्देशक, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो ।

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed