पुनर्निर्माण अपडेट

पुनर्निर्माणलाई तिव्रता दिन प्राधिकरण र विकास साझेदारहरुबीच छलफल

प्रकाशित मिति: २०७४-८-६

काठमाडौं, मंसिर ५

पुनर्निर्माणलाई तिव्रता दिने विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेका विकास साझेदार संस्थाहरुबीच छलफल भएको छ । प्राधिकरणमा मंगलवार भएको छलफलमा नवीकरण तथा अद्यावधिक भएका नीति तथा नियमहरु, जनशक्ति उत्पादन, संचार रणनीतिलगायतका एजेण्डाहरुमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युवराज भूसालले स्थानीय सरकारहरुलाई विश्वासमा लिएर पुनर्निर्माणको कार्यलाई तिव्रता दिने योजना प्रस्तुत गर्नुभयो। 

सीईओ भूसालले पुनर्निर्माणलाई गति दिन आफूलगायतका प्राधिकरणका उच्च अधिकारीहरु आगामी प्रतिनिधिसभा तथा प्रान्तीय निर्वाचनपछि भूकम्प प्रभावित क्षेत्रमा बढीभन्दा बढी समय रहने कार्यक्रम रहेको बताउनु भयो। 

त्यस्तै, प्राधिकरण सचिव मधुसुदन अधिकारीले सबैको इमान्दार प्रयासबाट भूकम्पपीडितलाई सुरक्षित छानोभित्र ल्याउने प्रयास सफल हुने विश्वास व्यक्त गर्नु भयो।
 
कार्यक्रममा पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेका विश्व बैंक, जाइका, युएसएड, डिएफआइडीलगायतका विकास साझेदार संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता थियो। विकास साझेदारका प्रतिनिधिहरुले भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणमा आफ्नो तर्फबाट भइरहेको सहयोग निरन्तर रहने विश्वास दिलाउँदै आगामी दिनमा यसको गति अझ तीव्र हुने आशा व्यक्त गर्नु भयो।   

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed