पुनर्निर्माण अपडेट

नौतले दरबार पुनर्निर्माणको शिलान्यास

प्रकाशित मिति: २०७४-४-३२

भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबार पुनर्निर्माणको शिलान्यास भएको छ । नेपालको तीन दिने भ्रमणमा रहनुभएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मंगलबार संयुक्त रूपमा उक्त कार्यको शिलान्यास गर्नुभएको हो ।
भूकम्पले क्षति पु¥याएका विभिन्न ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय संरचना पुनर्निर्माणमा विभिन्न विदेशी राष्ट्रहरूले सहयोग गर्ने वाचा गरेका थिए । चीनले यो दरबारका अतिरिक्त नुवाकोटको सात तले दरबारको पुनर्निर्माणमा पनि सहयोग गर्दैछ ।
नौतले दरबार पुनर्निर्माण गर्न करीब १६ करोड रुपैयाँ लाग्ने अनुमान छ । उक्त सम्पूर्ण खर्च चिनियाँ सरकारले बेहोर्ने छ । चीन सरकारले यससबन्धी अध्ययन गरिसकेको छ । पुनर्निर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका भने पुरातत्व विभागले गर्नेछ ।
शिलान्यास कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्द राज पोखरेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत यु होङको पनि उपस्थिति थियो ।  
भूकम्पबाट क्षति भएकामध्ये केही सम्पदा पुनर्निर्माणको जिम्मा विभिन्न देशले लिएका छन् । वसन्तपुरकै गद्दी बैठक पुनर्निर्माणका लागि अमेरिकाले सहयोग गरिरहेको छ । त्यसैगरी, श्रीलङ्काले स्वयम्भूको आनन्दकुटी बिहार र बुङमतीको रातो मच्छिन्द्रनाथको मन्दिर बनाउने जिम्मा लिएको छ । यस्तै स्वीस सरकारले दोलखाको तलेजु भवानीको मन्दिर बनाउने जिम्मा लिएको छ । छिमेकी भारत सरकारले पुरानो अदालत भवन पाटन, पाटन दरवार स्क्वायरको भीमसेन मन्दिर, सेतो मच्छिन्द्रनाथ, टेकूस्थित बमबिकटेश्वर सत्तल सहित मन्दिर पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed