English

प्राधिकरण निर्देशक समितिको दशौँ बैठक सम्पन्न

प्रकाशित मिति:२०७४-०३-२८

पुनर्निर्माणलाई थप तिव्रताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको दशौ बैठक बुधवार सम्पन्न भएको छ । निर्देशक समितिको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा बसेको बैठकले प्राधिकरणद्वारा प्रस्तावित विभिन्न बिषयलाई पारित गरेको छ । 
बैठकमा निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले पुनर्निर्माणलाई थप तिव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो । 
बैठकले आगामी आर्थिक बर्षको लागि प्रस्ताव गरिएको १ खर्ब ४५ अर्ब ९३ करोड ४९ लाख ४० हजार बजेट स्वीकृत गरेको छ । 
निर्देशक समितिको वैठकले निजी आवास निर्माणका लागि अनुदान वितरणमा समय सिमा तोकेर अभियान चलाउने निर्णय समेत गरेको प्रवक्ता यमलाल भूसालले जानकारी दिनुभयो । 
बैठकले भूकम्प कम प्रभावित १७ जिल्ला हेर्नेगरि ८ स्थानमा प्राधिकरणको सम्पर्क कार्यालय स्थापना गर्न स्वीकृति दिएको छ । 
प्रवक्ता भूसालका अनुसार बैठकले थप सुझाव समेट्न गरि प्राधिकरणको आगामी आर्थिक बर्षको कार्ययोजनामा पारित गर्ने निर्णय गरेको छ । 
बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणले ढिलै भएपनि गति लिएको भन्दै आगामी आर्थिक बर्षमा निजी आवास, सम्पदा, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणले थप तिव्रता पाउने बताउनुभयो । 
उहाँले करिब ४० हजार बढी भूकम्प प्रतिरोधी घर पुनर्निर्माण सम्पन्न भएको र १ लाख १० हजार बढी घर निर्माणका क्रममा रहेकाले आगामी आर्थिक बर्षमा निजी आवास पुनर्निर्माणमा उल्लेख्य प्रगति हुने विश्वास लिएको बताउनुभयो । 
बैठकले पारित गरेका प्राधिकरणको आगामी कार्ययोजनाका केही महत्वपुर्ण बुँदाहरु यसप्रकार छन् :
० गुनासो व्यवस्थापनअन्तर्गत गुनासो लिने समयसीमा २०७४ फागुनसम्मलाई तोकिएको छ । 
० जोखिमयुक्त घरधुरी एवम् लाभग्राहीको पहिचान गर्ने समयसीमा २०७५ भदौ १५ सम्म तोकिएको छ । स्वेच्छिक स्थानान्तरण हुन चाहने लाभग्राहीसँग २०७४ असोजसम्म अनुदान सम्झौता हुनेछ । प्राधिकरणले २०७४ असोजसम्म पाँच वटा (गोरखाको केरौजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बेसिम्पा) जोमिखयुक्त वस्तीहरु स्थानान्तरण गरेर एकीकृत वस्ती निर्माण गर्ने पाइलट कार्यक्रमको विस्तृत अध्ययन गर्नेछ । 
० प्राधिकरणले व्यवस्थापन समितिहरुमार्फत् दोस्रो चरणमा निर्माणधीन १ हजार विद्यालयहरु २०७४ मंसिरसम्म सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । तेस्रो चरणका २ हजार विद्यालय ०७५ मंसिरसम्म र चौथो एवं अन्तिम चरणका १ हजार विद्यालय ०७६ मंसिरसम्म सम्पन्न गर्ने कार्ययोजना बनाएको छ । 
०  प्राधिकरणले पाइलटिंग कार्यक्रमका रुपमा साँखु, बुंगमती, खोकना, नुवाकोट, गोरखा र दोलखाका सम्पदा बस्तीहरुको पुननिर्माणका लागि २०६४ साउनबाट विशेष कार्यक्रम संचालन गर्नेछ । 
० प्राधिकरणले २०७७ असारसम्म सम्पूर्ण स्वास्थ संस्थाहरुको पुननिर्माण सक्ने लक्ष्य लिएको छ । अहिले २३० वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १४० वटाको भइरहेको छ । 
० सम्पूर्ण सरकारी भवनहरुको पुनर्निर्माण पनि २०७७ असारसम्म सक्ने समयसीमा तोकेको छ । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् नेपाली सेनाका भवनहरुको २०७६ असारभित्र सक्ने लक्ष्य छ भने राष्टिय अनुसन्धान विभागतर्फका भवनहरु २०७७ असारसम्म सक्ने लक्ष्य छ ।
० काठमाडौं उपत्यकाका दरबार क्षेत्र, धरहरालगायत पुरातात्विक सम्पदाहरुको पुननिर्माणको समयसीमा पनि २०७७ असार तोकिएको छ ।
० ग्रामीण सडकहरुको सम्पन्न गर्ने लक्ष्य २०७५ असारसम्म, रणनीतिक सडकहरुको पुनर्निर्माण गर्ने समयसीमा २०७६ असारसम्म तोकिएको छ । 
० प्राधिकरणले जीविकोपार्जनसम्बन्धि कार्यक्रम २०७४ साउनबाट सुरु गरेर निरन्तर संचालन गर्नेछ । यसअन्तर्गत भूकम्पप्रभावित प्रत्येक गाउँ÷पालिकामा आयआर्जनसम्बन्धी कार्यक्रम संचालन हुनेछन् ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority