English

निजी आवास निर्माणमा उत्साहजनक प्रगति

प्रकाशित मिति:२०७४-०३-१८

महाविनाशकारी भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणमा पछिल्लो समय उत्साहजनक प्रगति देखिन थालेको छ । असार १ देखि असार १५ गतेसम्मको १५ दिनको अवधिमा मात्रै ३१ हजार ५ सय ३५ नयाँ भूकम्पपीडितले निजी आवास निर्माण सुरु गरेका छन् । 
अहिले ९७ हजार ७४ ले घर पुनर्निर्माण गरिरहेको छन् । हालसम्म घर निर्माण सम्पन्न गर्नेको संख्या २९ हजार ६ सय ८५ पुगेको छ । त्यसका अतिरिक्त निर्माण भइसकेका तर मापदण्ड नपुगेका घरलाई सुधार गरी प्रणालीमा ल्याएपछि यो संख्या उल्लेखनीय रुपमा बढ्नेछ । त्यस्ता घरलाई भूकम्पप्रतिरोधी बनाउने प्रक्रिया तीव्र भएकोले तीनको तथ्यांक छिट्टै प्रणालीमा आउने अपेक्षा गरिएको छ । 
प्राधिकरणले ढुंगा माटोले बनेका तर मापदण्डअनुसार हुन नसकेका घरलाई भूकम्पप्रतिरोधी बनाउन सुधार तथा अपवाद पुस्तिका नै बनाएर जिल्लाजिल्लामा पठाइसकेको छ । 
घर निर्माणसँगै पहिलो, दोस्रो र तेस्रो किस्ता लिनेको संख्या पनि बढिरहेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार असार १ देखि १५ सम्मको अवधिमा १३ हजार ८ सय ७८ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ भने पहिलो किस्ता लिनेको संख्या ११ हजार ८ सय छ । त्यस्तै, यही अवधिमा ११ हजार ७६ ले दोस्रो किस्ता लिएका छन् भने तेस्रो किस्ता लिनेको संख्या ४ सय ८७ छ । 
प्राधिकरणले निजी आवास निर्माणमा तीव्रता होस् भनेर हालै निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई अभिमुखीकरणसहित विशेष अपिल गरेको छ । त्यस्तै, प्राधिकरणले कुनै पनि किस्ताको निजी आवास अनुदान लिन चाहने लाभग्राहीका लागि रकम अभाव नहोस् भनेर १८ अर्ब रकम जिल्ला जिल्ला पठाइसकेको छ । 
पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग निर्माण राखी प्राविधिकबाट पास गरेर दोस्रो किस्ता लिन सक्छन् । 
निजी आवास निर्माणमा गति आउनुमा प्राधिकरणबाट भएका विभिन्न नीतिगत सुधार एवम् पहल तथा स्थानीय तहमा निर्वाचित जनप्रतिधिहरुको उपस्थिति पनि एक हो । दोस्रो चरणको निर्वाचनपछि राज्यका निकायहरुको ध्यान पनि पुनर्निर्माण तथा विकास निर्माणमा जाने भएकोले यसले गति लिने संभावना देखिन्छ । 
तथापि, पहिलो किस्ता लिएका अधिकांश भूकम्पपीडितले आवास निर्माण सुरु नगर्दा पहिलो किस्ता लिएको अनुपातमा संख्या बढेको भने देखिएको छैन । विभिन्न अध्ययनहरुले निर्माण जनशक्तिको अभाव, अर्धपक्की खालका आवास निर्माण गरिएकोले केही समय त्यसैले काम चलाउने सोच, आवास निर्माणमा सरकारी अनुदान पर्याप्त नहुनु, ठूलो युवा जनशक्ति विदेशमा हुनु, निर्माण सामग्रीको अभाव आदि कारणले आवास निर्माणमा अवरोध रहेको देखाएका छन् ।        

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority