English

प्राधिकरणको अगुवाइमा सेलाङमा बन्ने भयो एकीकृत नमूना वस्ती

प्रकाशित मिति:२०७४-०३-०२

सिन्धुपाल्चोकका विभिन्न विकट गाउँहरु गोल्चे, गुम्बा, पाङताङ, सेलाङ र बतासेका १ सय ७८ भूकम्पपीडित परिवारलाई आश्रय लिइरहेकै ठाउँ सेलाङको बाँसखर्कमा एकीकृत वस्ती बन्ने भएपछि त्यहाँ बसिरहेका भूकम्पपीडितहरु खुशी भएका छन् । बुधबार दिउँसो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेलले अब बसेकै सरकारी जग्गामा एकीकृत वस्ती बन्ने घोषणा गरेपछि उनीहरु खुशीले गदगद् भएका हुन् ।
भूकम्पपछि पाल र जस्ताको टहरामा कष्टपूर्ण तरिकाले बसिरहेका भूकम्पपीडितले पक्की घर बन्ने खबर सुनेपछि खुसी लुकाउन सकेनन् । भूकम्पपछि आफू बसिरहेका बस्ती जोखिमपूर्ण भएपछि समतल स्थान रहेको जुगल गाउँपालिका–१ स्थित बाँसखर्कमा विभिन्न गाउँका भूकम्पपीडित शिविर बनाई बसेका छन् । हाल उनीहरु नौ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा अस्थायी टहरा बनाएर बसिरहेका छन् । 
केही समयअघि गठित एक कार्यदलले गरेको अध्ययनले भूकम्पपीडितको पुरानो थातथलोमा बस्न अयोग्य देखिएपछि प्राधिकरणको अगुवाइमा उनीहरूलाई बस्दै आएको स्थानमै जग्गा प्रदान गरी एकीकृत आवास निर्माण गराउन लागिएको हो ।
आफू बस्दै आएको स्थानमा नयाँ घर बन्ने जानकारी पाएपछि खुसी भएकी एकल महिला अमरकुमारी थापाले भन्नुभयो, ‘पुरानो ठाउँमा जाँदा माथि भीरैभीर छ भने तल पहिरो नै पहिरो छ, यहाँ सुरक्षित ठाउँमा घर बन्ने भएपछि अब मनै उज्यालो दिनै उज्यालो हुने भयो ।’ 
सोही स्थानमा टहरा बनाएर बसिरहनुभएकी शैलकुमारी सिलवालले पनि खुशी लुकाउन सक्नुभएन । उहाँले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा. गोविन्द पोखरेलको टोलीलाई छिट्टै घर बनाइदिनका लागि आग्रह गर्नुभयो, ‘टहरामा बस्न निकै सकस भएको छ । जाडोमा हिउँले सताउँछ, गर्मीमा जस्ता र पालले पोलेर बस्नै सकिदैन ।’
‘भूकम्प गएको २५ महिनापछि बल्ल आशा पलायो,’ पीडित कुमारी थापाले खुशी हुँदै भन्नुभयो, ‘अब चुहिने टहरामा बस्नु नपर्ने भयो ।’ ढिलै भए पनि सरकारले हेरिदिएकोमा उहाँले धन्यवाद पनि दिनुभयो । 
पीडितहरुको कुरा सुनेपछि डा. पोखरेल यस्ता जोखिमयुक्त बस्तीमा रहेको हजारौं पीडितलाई सुरक्षित स्थलमा सार्न प्राधिकरणले जोड दिएर काम गरिरहेको बताउनुभयो । उहाँले यहाँ रहेका विस्थापितलाई राख्ने क्रममा ठाउँमा सुन्दर बस्ती निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँ सडक, खानेपानी र बिजुलीको प्रबन्ध हुनेछ ।  त्यस्तै, विद्यालय, व्यवस्थित शौचालय, स्वास्थ्य चौकी र सामुदायिक भवन पनि बनाइनेछ ।’ 
उहाँले जीविकोपार्जनलाई मद्दत पुग्नेगरी यो स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि विभिन्न भौतिक संरचनासमेत निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो ।
प्राधिकरणकोे अगुवाइमा, अक्सफामको सहयोग तथा सामुदायिक आत्मनिर्भरता सेवा केन्द्रको समन्वयमा यहाँ एकीकृत बस्ती बसाउन अध्ययन गरिएको हो । आत्मनिर्भर केन्द्रका जगत बस्नेतले प्राधिकरणको नेतृत्वमा आफूहरू बस्ती निर्माणमा सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो । 
पुनर्निर्माण प्राधिकरणका सिन्धुपाल्चोक प्रमुख रुद्र मल्लले एकीकृत बस्ती निर्माणका लागि प्रक्रिया पु¥याएर छिट्टै काम थाल्ने जानकारी दिनुभयो, ‘अहिले विस्थापित बसिरहेको स्थान सामुदायिक वनको जग्गा हो । यहाँ घर बनाउने विस्थापितसँग जग्गा साटासाट गरिनेछ । उहाँहरूले पुरानो जग्गा सरकारको नाममा दिनुपर्छ, त्यसपछि हामीले उहाँहरूलाई घर निर्माणका लागि सामुदायिक वनको जग्गा दिनेछौं ।’ मल्लका अनुसार प्रतिपरिवार १० आना जग्गा दिन सकिने स्थिति छ । 
स्थानीयले वस्ती निर्माणका क्रममा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले गाउँमा कुनै पनि विवाद आउन नदिने प्रतिबद्धता जनाउँदै सबै समुदाय मिलेर अब बन्ने नयाँ बस्तीका लागि सहयोग गर्ने बताए ।
प्राधिकरणले यस्ता जोखिमयुक्त वस्तीलाई सुरक्षित स्थलमा सार्ने क्रममा सिन्धुपाल्चोकको यो गाउँका अतिरिक्त गोरखाको केरौजा, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बेसिम्पामा पाइलट प्रोजेक्टको रुपमा काम गरिरहेको छ । 
केही समयअघि मन्त्रीपरिषद्ले यस्ता जोखिमयुक्त वस्तीका बासिन्दालाई सुरक्षित स्थलमा घडेरी खरिद गर्न दुई लाख दिने र कमसेकम १० परिवार मिलेर एकीकृत वस्ती निर्माण गर्न चाहे विकासका पूर्वाधार पु¥याउन सहयोग गर्नेछ । 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority