English

पुनर्निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा युएनडीपीले सहयोग गर्ने

प्रकाशित मिति:२०७४-०२-२२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच पुनर्निर्माणका लागि प्राधिकरणमा आवश्यक पर्ने जनशक्ति उत्पादनबारे समझदारी भएको छ । 
प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतो र युएनडीपीका नेपाल निर्देशक रेनड मेयरले उक्त समझदारीमा हस्ताक्षर गर्नुभएको हो ।
यो कार्यक्रम जेठ २० (२०१७ जुन २) बाट लागू भएको छ र २०७६ पुस १६ (२०१९ डिसेम्बर ३१) सम्म चल्नेछ ।  यस कार्यक्रमका लागि करिब ६० लाख अमेरिकी डलर आवश्यक पर्ने आंकलन गरिएको छ । 
सुरक्षित पुनर्निर्माणका लागि प्राधिकरणको क्षमता अभिबृद्धि परियोजनाअन्र्तगत चल्ने यो कार्यक्रममा यस वर्ष युनडीपीले पाँच लाख अमेरिकी डलर सहयोग गर्नेछ । 
यो समझदारीअनुसार प्राधिकरणले नेतृत्व गर्दै आएको पुनर्निर्माणलाई तीव्रता दिन मानव जनशक्ति व्यवस्थापन संयन्त्र स्थापना हुनेछ जसले आवश्यक विज्ञ तथा अन्य जनशक्ति पहिचान तथा नियुक्त गर्न प्राधिकरणलाई सहयोग गर्नेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणमा जनशक्तिको अभाव मुख्य चुनौती बनिरहेका बेला युएनडिपीको उक्त सहयोगले पुनर्निर्माणको गतिलाई तिव्रता दिन सहयोग पुग्ने बताउनुभयो । उहाँले विभिन्न बिकास साझेदार संस्थाहरु समन्वय र सहकार्य गरेर पुनर्निर्माणलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । 
यो कार्यक्रमको प्रभावकारिताबारे प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुषालको धारणा छ, ‘जनशक्ति नियमित प्रक्रियाबाट प्राप्त हुन नसकेको अवस्थामा आवास पुनर्निर्माणमा आवश्यक समन्वय र सहजीकरण गर्नुका साथै प्राधिकरणको केन्द्रीय कार्यालयमा सूचना व्यवस्थापन गर्न सहज हुनेछ ।’
 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority