English

कम प्रभावित १७ जिल्लामा करिब एक लाख लाभग्राही अनुदान पाउने सूचिमा

प्रकाशित मिति:२०७४-०१-२०

भूकम्पबाट कम प्रभावित १७ जिल्लामा करिब एक लाख लाभग्राही निजी आवास पुनर्निर्माणको अनुदान पाउन योग्य देखिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्वेक्षण अनुसार दुई जिल्लाका ४ गाविसबाहेक सर्वेक्षण सकिएका १७ जिल्लाका ९८ हजार २ सय १ घरधुरी लाभग्राही सूचिमा समावेश भएका हुन् ।

हिमपहिरोका कारण सर्वेक्षण सकिन ढिलाई भएका सोलुखुम्बुका ३ र लमजुङको एक गाविस बाहेक १७ जिल्लाका ७ सय ५४ नगरपालिका र गाविसबाट प्राप्त लाभग्राहीको सूचिलाई प्राधिकरणको कार्यकारी समिति वैठकले अनुमोदन गरिसकेको छ ।

लाभग्राही सूचिमा परेकासँग आवास अनुदान सम्झौता सम्पन्न भए ती सबैले निजी आवास पुनर्निर्माणका लागि तीन लाख अनुदान प्राप्त गर्नेछन् । प्राधिकरणले अनुदान सम्झौता सम्पन्न भइसकेका लाभग्राहीलाई पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ वितरण गरिरहेको छ ।

सर्वेक्षणअनुसार अर्घाखाँचीका १ हजार ३६, बागलुङका २ हजार ३ सय ७५, भोजपुरका ५ हजार ७ सय ४९, धनकुटाका २ हजार ७ सय ९६, गुल्मीका ४ हजार १ सय ४४, कास्कीका ६ हजार २६, खोटाङका ८ हजार ४ सय ४३ घरधुरी लाभग्राही सूचिमा समावेश भएका छन् ।

यस्तै लमजुङका १३ हजार ५ सय १९, म्याग्दीका ८ सय ६८, नवलपरासीका ८ सय ७२, पाल्पाका ४ हजार ६ सय ५२ , पर्वतका ५ हजार २ सय ६९, संखुवासभाका १ हजार ९ सय ९३, स्याङ्जाका ८ हजार ५ सय ४९, चितवनका ७ हजार ३ सय ३५, सोलुखुम्बुका १० हजार ७ सय ९४ र तनहुँका १३ हजार ८ सय २१ घरधुरी लाभग्राही सूचिमा परेका  छन ।

सर्वेक्षण हुन बाँकी ४ गाविसमा पनि छिट्टै काम शुरु गर्ने प्राधिकरणको तयारी छ । अति प्रभावित १४ जिल्लालाई पहिलो चरणमा प्राथमिकतामा राखेर अनुदान वितरण काम तिव्र पारेको प्राधिकरणले अहिले कम प्रभावित १७ जिल्लामा अनुदान वितरणलाई तिव्रता दिएको छ ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority