English

निजी आवासका लागि थप ४ अर्ब को अख्तियारी

प्रकाशित मिति:२०७४-०१-१५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाहरुमा निजी आवास पुनर्निर्माणका लागि अनुदान वितरण गर्न थप ४ अर्ब रुपैयाँ अख्तियारी दिएको छ । प्राधिकरणले शुक्रवार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई उक्त रकमको अख्तियारी दिएको हो ।

अति प्रभावित १४ जिल्ला र प्रभावित १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि धमाधम अनुदान वितरण भइरहेकाले रकम अभाव हुन नदिन अग्रिम रुपमै जिल्लामा पठाउने गरी अख्तियारी दिइएको छ।

निजी आवास पुनर्निर्माणका लागि अनुदान दिन प्राधिकरणले यसअघि ४१ अर्ब ७७ करोड ११ लाख ८ हजार रुपैयाँ वितरणको अख्तियारी दिएको थियो । त्यसमा नेपाल सरकारको २४ अर्ब ७० करोड ६९ लाख, पुनर्निर्माण संयुक्त कोषको १ अर्ब ४७ करोड ९ लाख, भारतको ५ अर्ब २ करोड, आई.डी.ए.को ६ अर्ब १४ करोड १३ लाख, जाइकाको २ अर्ब ९३ करोड र आइ.एम.एफको ५ अर्ब रुपैयाँ छ । प्रक्रिया र मापदण्ड पूरा गरेका लाभग्राहीले चाहेकै समयमा अनुदान लिएर घर बनाउन सक्छन् । आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरिसकेका लाभग्राहीले भूकम्प प्रभावित ३१ जिल्लामा धमाधम अनुदान लिइरहेका छन् ।

अहिलेसम्म अति प्रभावित १४ मध्ये ११ जिल्लाका ९८ प्रतिशतले पहिलो किस्ता बुझिसकेका छन भने कम प्रभावित १७ जिल्लाहरुमा पनि पहिलो किस्ता वितरण तीव्र रुपमा भइरहेको छ । १४ जिल्लामा पहिलो किस्ता लिइसकेका करिब ५२ हजार लाभग्राहीले घर पुनर्निर्माणको काम शुरु गरिसकेका छन् भने ३६ हजार ६ सय ३६ जनाले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन् ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority