English

अपांगमैत्री संरचना बनाउने प्राधिकरणको प्रतिबद्धता

प्रकाशित मिति:२०७४-०१-१४

अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवनपद्दति केन्द्र, काठमाडौँले पुनर्निर्माणका क्रममा अपांगमैत्री संरचना बनाउन प्राधिकरणको ध्यानाकर्षण गरेको छ । बिहीबार प्राधिकरणका उच्च पदाधिकारीहरुलाई ज्ञापन पत्र बुझाउँदै केन्द्रले भूकम्पसम्बन्धी राहतका क्रममा अपांगता भएका पीडितलाई विशेष ध्यान दिन पनि आग्रह गरे ।

‘पुनर्निर्माण हुँदा निजी आवास, सार्वजनिक भवन, टावरहरु तथा पुरातत्व सम्पदा अपांगमैत्री बनुन् । हामीलाई पनि टावर चढेर काठमाडौं हेर्न अवसर उपलब्ध होस्’, ज्ञापन पत्र बुझाउने क्रममा केन्द्रका प्रतिनिधिहरुले प्राधिकरणलाई आग्रह गरे ।

ज्ञापनपत्र बुझ्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेलले सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा अपांगमैत्री बनाउन निर्देशन दिइएको उल्लेख गर्दै सम्पदा पुनर्निर्माण गर्दा पनि अपांगमैत्री बनाउन ध्यान दिन आग्रह गर्ने बताउनुभयो ।

उहाँले जीविकोपार्जनका तालिममा अपांगलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाजिल्लामा जारी जनशक्ति तालिमका क्रममा आपांगतामैत्री संरचना निर्माण गर्ने विषयमा जोड दिइने पनि जानकारी गराउनु भयो । त्यसैगरी, डा. पोखरेलले जिल्लास्तरका प्राकृतिक प्रकोप तथा राहतसम्बन्धी बैठकहरुमा आपांगता भएका व्यक्तिलाई पनि समावेश गर्न निर्देशन दिइसकेको बताउनुभयो ।  

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority