English

उठ्दैछ, फस्कु

प्रकाशित मिति:२०७३-०८-१४

दोलखा जिल्ला फस्कु गाविस, ३ का प्रतापजंग कार्की घर बनाउँदै हुनुहुन्छ । भूकम्पले क्षति भएको घर पुनर्निर्माण गर्न सरकारबाट पहिलो किस्ता अनुदान ५० हजार रुपैयाँ पाएपछि उहाँ घर बनाउन लाग्नु भएको हो । 'अनुदान पाएपछि घर बनाउन ढिला गर्नु भनेको आफैले धेरै दुःख पाउनु हो । त्यसलै घर बनाउन लागेका हौं'-कार्कीले भन्नुभयो ।

कार्कीले इन्जिनियसँग सल्लाह गरेर जग हालिसक्नु भएको छ । कार्कीले भन्नुभयो- 'घर बन्दै गर्छ, दोस्रो र तेस्रो किस्ताको अनुदान पनि आउँदै गर्छ ।' ‌

कार्की जस्तै फस्कुमा अनुदान पाउने छनौट सूचीमा पर्नेको संख्या १३ सय २४ छ । उनीहरुको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भइसकेको छ ।

इन्जिनियर दीपेन्द्र सापकोटाका अनुसार अनुदान लिएर २० वटा घर बन्दैछन् ।

गाउँमा घर बनाउने लहर सिर्जना हुन थालेको छ । निर्माण सामग्री ल्याउने ट्याक्टर र ट्रकको संख्या बढेको छ । भूकम्प प्रतिरोधि बनाउन केहीले ठाउँ ठाउँमा बालुवा र सिमेन्ट प्रयोग गरेका छन् भने केहीले काठ । केही घर भने पिल्लरवाला बनाइएको छ ।

सडकका छेउ छेउमा बालुवा राखिएको छ । घर बनाउनका लागि तयारीको कुराकानी बढी हुन थालेको छ । 'भूक्पको मारमा परेको फस्कु उठदैछ । यो वर्ष घरको निर्माणको प्रकृयाले तीव्रता पाउँछ'- इन्जिनियर राजन अधिकारीले भन्नुभयो ।

गाविस सचिव बलराम बुढाथोकीका अनुसार दोस्रो किस्ता अनुदानका लागि माग भइसकेको छ भने घर निर्माण सम्पन्न गरेकाले दोस्रो र तेस्रो किस्ताको रकम माग गर्न थालेका छन् । फस्कुमा ६९ वटा घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

फस्कुमा ४ सय ६० वटा सय गुनासो दर्ता गरिएको छ । गाविस सचिव बलराम बुढाथोकी भन्नुहुन्छ-' गुनासो सुनुवाई मुख्य समस्या हो । छिटो भन्दा छिटो गुनासो सुनुवाई गर्न आवश्यक छ ।'

सर्भेक्षण छुटेका, सर्भेक्षण भएर पनि अनुदान पाउने छनौट सूचीमा नपरेका, जग्गाको समस्या लगायतबारे गुनासा परेका छन् । स्थानीयहरुले सबै भन्दा पहिले गुनासो सुनुवाई गर्न आग्रह गरेका छन् । 'अनुदान पाउने नपाउने स्पष्ट नभएको घर बनाउन पाएनौं । त्यसको छिनोफानो गर्नुपर्छ र पीडितलाई न्याय दिनुपर्छ'- स्थानीय कुलबहादुर खड्काले भन्नुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण दोलखा शाखाका निमित्त प्रमुख युवराज खरेल वास्तविक पीडितले अनुदान पाउने बताउनुहुन्छ । 'गुनासा सुनुवाईको क्रममा छन् । त्यसको नतिजा आएपछि धेरै समस्या समाधान हुन्छ'- उहाँ भन्नुभयो ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
भिडियो
National Reconstruction Authority