पुनर्निर्माण अपडेट

छुट सर्वेक्षण तथा पुनःजाँच सर्वेक्षणमा खटिने इन्जिनियरहरुका लागि तालिम शुरु


प्रकाशित मिति: २०७४-४-२२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो फछ्र्याेटमार्फत् छुट सर्वेक्षण तथा पुनः जाँच वर्गमा परेका भूकम्प अति प्रभावित १४ जिल्लाका गुनासोकर्ताहरुका घरदैलोमा पुगी स्थलगत तथ्यांक संकलन विवरण कार्यमा खटिने ३३२ ईन्जिनीयरहरुका लागी संचालन हुन लागेको ३ दिने तालिम कार्यक्रम आइतबारबाट काठमाण्डौंमा शुरु भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतोले आज एक समारोहका बीच गर्नु भयो । छुट सर्वेक्षण तथा पुनःजाँच सर्वेक्षणमा खटिने इञ्जिनियरलाई पुनर्निर्माणको कामलाई छिटो र छरितो रुपमा सन्पन्न गर्ने दायित्व इञ्जिनियरहरुको पनि भएकोले जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो ।
त्यस्तै, प्राधिकरणका कार्यकारी समिति सदस्य हरिराम पराजुलीले सर्वेक्षणका क्रममा त्रुटीहरु हुन नदिन आग्रह गर्नुभयो । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमन राज अर्यालले कुनै पीडित पनि नछुटुने भन्नेमा सचेत हुन अनुरोध गर्नुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा यो सर्वेक्षणको स्थलगत तथ्यांक सकंलन कार्य यही साउन २६ गतेदेखि पहिलो चरणमा ८ जिल्लाहरु ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपलान्चोक, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा र गोरखामा हुनेछ । यी जिल्लामा खटिने १६८ इन्जिनियरका लागि पहिलो चरणको तालिम हुनेछ ।
त्यसैगरी बाँकी ६ जिल्लाहरुमा खटिने १६४ इन्जिनीयरहरुका लागि यही साउन २६ गते देखि दोस्रो चरणको तालिम कार्यक्रम संचालन हुनेछ । दोस्रो चरणमा परेका जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिगंमा छन् । ती जिल्लामा साउन ३० गतेदेखि स्थलगत तथ्यांक संकलन कार्य शुरु हुनेछ ।
प्राधिकरणले भाद्र ३१ भित्रमा सबै जिल्लामा स्थलगत तथ्यांक संकलन कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस कार्यक्रमअन्तर्गत १४ जिल्लामा ८१ हजार ०८२ परिवारहरुको पुनः जाँच र ५२ हजार २७८ परिवारहरुको छुट सर्वेक्षण गरि कुल १ लाख ३३ हजार ३६० परिवारहरुको सर्वेक्षण गरिनेछ ।
गुनासो दर्ता गराएकामध्ये यस अगाडि नै ३९ हजार ०९७ परिवारहरु पुनर्निर्माण अनुदान लाभग्राही र १३ हजार ५६५ परिवारहरु प्रबलीकरण लाभग्राहीमा गुनासो सुनुवाईमार्फत परिसकेका छन् । सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, दोलखामा सर्वेक्षण गर्नु पर्ने संख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ ।
१४ जिल्लामा २ लाख ७ हजार ५०० ले गुनासो दर्ता गराएका थिए ।
स्थलगत तथ्यांक संकलन कार्य ईन्जिनीयर र स्थानीय सामाजिक परिचालकको टोलीले गर्नेछ । तालिम उद्घाटनमा प्राधिकरणले नेतृत्वले स्थानीय जनप्रतिनिधिहरुको व्यापक साथ र सहयोग लिएर कार्य अगाडी बढाउन इञ्जिनियरहरु निर्देशन दिएको छ । ट्याबलेट प्रविधिको प्रयोग गरी संकलन गरिने विवरण इन्टरनेटमार्फत् केन्द्रीय सर्वरमा भण्डारण हुनेछ जसको गहन विश्लेषण गरिने छ ।
यसरी सर्वेक्षण भएका परिवारहरुको असोज मसान्तसम्ममा फस्र्योट गरी लाभग्राही पर्ने नपर्ने छनौट गरिसक्ने लक्ष्य राखिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भूकम्प अति प्रभावित क्षेत्रका वासिन्दाहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनैतिक दल र अन्य सम्बद्ध सबैमा यो कार्यलाई सफल पार्नका लागी सहयोग पुरयाउनु हुन हार्दिक अनुरोध समेत गरेको छ ।

Share on

समाचार तथा जानकारी

Twitter Feed